Section 5
दुर्घटनाको जाँचको सम्बन्धमा नियम बनाउने नेपाल सरकारको अधिकारः

(१) नेपालको इलकामाथि वायुयान उडाउँदा भएको वा नेपाल  भित्र रजिष्ट्रेशन भएका वायुयान अन्यत्र उडाउँदा भएको दुर्घटनाको जाँचको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्छ । नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन् ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियममा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ ः–
(क) दुर्घटनाको सूचना दिने, त्यस्तो सूचनाको ढाँचा र त्यस्तो सूचना दिने व्यक्ति,
(ख) दुर्घटनाको जाँच गर्ने सम्बन्धमा तत्काल लागू रहेका नेपाल कानुनका कुराहरू केही हेरफेर भई वा नभई त्यस्तो दुर्घटनाको जाँच गर्ने सम्बन्धमा पनि लागू गर्ने,
(ग) जाँच भई नसकेसम्म त्यस्तो दुर्घटना भएको वायुयानमा प्रवेश गर्न वा हात हाल्न मनाही गर्ने र त्यस्तो जाँचको निमित्त सो वायुयानमा प्रवेश गर्न, त्यसको जाँच गर्न, त्यसलाई हटाउने, त्यसको हिफाजतको लागि चाहिने काम गर्न वा अरू प्रकारबाट त्यसको व्यवहार गर्न पाउने अधिकार कुनै व्यक्तिलाई दिने र
(घ) दुर्घटनाको जाँचमा आवश्यक देखिए यो ऐन वा प्रचलित कानुन बमोजिम दिएको वा मान्यता दिइएको लाइसेन्स प्रमाणपत्रलाई रद्दी वा स्थगित वा दरपीठ वा फिर्ता बुझाउन लगाउने, गराउने वा गराउन अधिकार दिने र त्यस्तो जाँचको प्रयोजनको निमित्त त्यस्तो कुनै लाइसेन्स पेश गर्न लगाउने ।